काठमाडौं, २९ पुष- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाएको छ। संस्थापन पक्षसँगको वार्ता निष्कर्षमा नपुगेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको समूहले एकतर्फी रूपमा निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै कार्यान्वयनमा गएको हो।
भृकुटीमण्डपमा हाल उम्मेदवारको मनोनयन फारम वितरण कार्य भइरहेको छ। निर्वाचन समितिले यसअघि दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोके पनि सो समयतालिका संशोधन गर्दै साँझ ५ बजेपछि मनोनयन दर्ता गर्ने व्यवस्था मिलाएको छ।
निर्वाचन तालिकाअनुसार मंगलबार राति ९ बजेदेखि बुधबार बिहान १:३० बजेसम्म मतदान हुने जनाइएको छ। निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि पदअनुसार फरक–फरक शुल्क पनि निर्धारण गरेको छ। सभापति पदका लागि ३० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि २५–२५ हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ तथा केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ।
महाधिवेशनबाट साविकको विधानअनुसार एक सभापति, दुई उपसभापति र दुई महामन्त्री निर्वाचित हुनेछन्। साथै महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू र पिछडिएको क्षेत्रबाट आठ जना सहमहामन्त्री तथा खुलातर्फ ३५ जना केन्द्रीय सदस्य चयन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय कार्यसमितिबाट मनोनित गरिनेछ।
महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनलाई पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले भने वैधानिकता नदिएको जनाएको छ। सहमतिको प्रयासस्वरूप विभिन्न तहमा छलफल भए पनि सहमति जुट्न नसकेपछि असन्तुष्ट पक्षले निर्वाचन प्रक्रिया अघि बढाएको बताइएको छ।
Breaking News
काठमाडौँ, पुस २९ गते — प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्। निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो।
आयोगका अनुसार समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवारले स्वयं उपस्थित भएर वा उपस्थित हुन नसकेको अवस्थामा वारेसमार्फत नाम फिर्ता लिन पाउने व्यवस्था गरिएको थियो। प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ।
नाम फिर्ता लिनेमा जनमत पार्टी, नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनीतिक दलका उम्मेदवार रहेका छन्। विवरणअनुसार जनता समाजवादी पार्टीका २१ जना र जनमत पार्टीका २० जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्।
जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच हालै एकता भएकाले बन्दसूची व्यवस्थापन गर्नका लागि केही उम्मेदवारको नाम फिर्ता लिइएको जनाइएको छ। आयोगले अन्तिम बन्दसूची सार्वजनिक हुँदा नाम फिर्ता लिने उम्मेदवारको संख्या थप हुन सक्ने स्पष्ट पारेको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ कूल ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए। आयोगले यही पुस १३ र १४ गते बन्दसूची पेस गर्न समय दिएको थियो। कूल २७५ सदस्यीय प्रतिनिधिसभा मध्ये ११० जना समानुपातिक निर्वाचन प्रणाली र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत निर्वाचित हुने संवैधानिक व्यवस्था छ।
वीरगंज पर्सा, २८ पुष — नेपाली कांग्रेस पर्सा जिल्लाका सभापति, प्रदेश सांसद तथा पूर्वमन्त्री जनार्दन सिंह क्षेत्रीले आज मानव आश्रमको अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा पूर्वमन्त्री क्षेत्रीले मानव आश्रममा आश्रित असहाय आमा–बुबाहरूसँगै बसेर दिउँसोको खाजा समेत गर्नुभएको थियो।
आश्रम भ्रमणका क्रममा उहाँले असहाय तथा बेसहारा व्यक्तिहरूको सेवा र संरक्षणप्रति आफ्नो चासो व्यक्त गर्दै व्यक्तिगत रूपमा तथा प्रदेश सरकारको तर्फबाट सम्भव हुने सहयोग, साथ र समन्वय सधैं रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले पूर्वमन्त्री क्षेत्रीको यस मानवीय पहलको सराहना गर्दै सामाजिक क्षेत्रको विकास, असहाय तथा कमजोर समुदायको संरक्षण र सेवामा यस्ता कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताएका छन | मानव आश्रमले लामो समयदेखि असहाय, वृद्ध, अपाङ्ग तथा बेसहारा व्यक्तिहरूको उद्धार, संरक्षण र पुनर्स्थापनाका क्षेत्रमा कार्य गर्दै आएको छ।
कल्याणपुर नगरपालिकाका तत्कालीन मेयर तेली भ्रष्टाचार मुद्दामा दोषी, ६ महिना कैद र १ लाख जरिवाना
सिराहा, २८ पुष- सिराहाको कल्याणपुर नगरपालिकाका तत्कालीन मेयर रामपुकार साह तेली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालत काठमाडौंले सोमबार उनलाई घुस लिएको अभियोगमा ६ महिना कैद र १ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको हो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले तेलीलाई घुस लिएको अभियोगमा दोषी ठहर गर्दै उक्त फैसला सुनाएको हो । साथै अदालतले उनलाई अपराध पीडित संरक्षण कोषमा ४ हजार रुपैयाँ बुझाउन समेत आदेश दिएको छ ।
अदालतका अनुसार मेयर तेलीले नगरपालिकाको आर्थिक वर्ष २०८१–८२ को पक्की नाला निर्माण योजनाको भुक्तानी मिलाइदिने बहानामा उपभोक्ता समितिकी अध्यक्ष जसोधा कुमारीसँग १ लाख रुपैयाँ घुस मागेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई उक्त रकमसहित रंगेहात पक्राउ गरेको थियो ।
मुद्दाको सुनुवाइका क्रममा तेलीले उक्त रकम छोराको व्यापारिक कारोबारसम्बन्धी भएको दाबी गरेका थिए । तर मोबाइल फोनमा भएको संवादको स्क्रिप्ट तथा बरामद गरिएको नोटको नम्बर भिड्दा उनको दाबी असत्य सावित भएको अदालतले ठहर गरेको छ ।
यसैबीच, सोही मुद्दामा प्रतिवादी बनाइएकी उपभोक्ता समितिकी अध्यक्ष जसोधा कुमारीले भने अदालतबाट सफाइ पाएकी छन् । अख्तियारले उनले अदालतमा बयान फेरेको (होस्टायल भएको) भन्दै मुद्दा दायर गरेको भए पनि उनले जानीजानी भ्रष्टाचार गरेको पुष्टि हुने ठोस प्रमाण नपुगेको ठहर गर्दै अदालतले उनलाई सफाइ दिएको हो ।
धनकुटा, पुस २८
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट ठूलो परिमाणको लागुऔषध गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले पुस २७ गते राति करिब ८ बजे भेडेटार नजिक सडक छेउमा शंकास्पद अवस्थामा रोकिराखिएको न. ४ च ६४७४ नम्बरको एम्बुलेन्स चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा एम्बुलेन्सभित्र प्लास्टिकका पोकामा लुकाइ राखिएको ४५९ किलो ९ सय ६५ ग्राम लागुऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त एम्बुलेन्स लागुऔषध ओसारपसारका लागि प्रयोग गरिएको आशंका गरिएको छ। घटनामा संलग्न व्यक्तिहरू एम्बुलेन्स छाडेर फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
बरामद गाँजा र एम्बुलेन्सलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
तेहरान, इरान २८ पुष — अमेरिकामा आधारित मानवअधिकार समूह एचआरएएनए (HRANA) का अनुसार इरानमा पछिल्ला दुई हप्तादेखि जारी प्रदर्शनका क्रममा कम्तीमा ४ सय ९० प्रदर्शनकारी र ४८ सुरक्षा कर्मचारी गरी कुल पाँच सयभन्दा बढीको मृत्यु भएको छ। यसै अवधिमा १० हजार ६ सयभन्दा बढी व्यक्तिहरू पक्राउ परेको समूहले जनाएको छ।
डिसेम्बर २८ देखि मूल्यवृद्धिविरुद्ध सुरु भएको प्रदर्शन क्रमशः इस्लामिक गणतन्त्रविरुद्धको व्यापक आन्दोलनमा रूपान्तरण भएको छ। सरकारले इन्टरनेट सेवामा प्रतिबन्ध लगाएपछि सूचनाको प्रवाहमा गम्भीर अवरोध आएको बताइएको छ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीमाथि बल प्रयोग भए अमेरिकाले हस्तक्षेप गर्न सक्ने चेतावनी बारम्बार दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “इरान स्वतन्त्रतालाई हेरिरहेको छ‘ अमेरिका मद्दत गर्न तयार छ|”
ट्रम्पको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै इरानले अमेरिकालाई ‘गलत क्रियाकलाप ’ नगर्न चेतावनी दिएको छ। इरानी संसदका सभामुख मोहम्मद बाकर कालिबाफले भने, “हामी स्पष्ट छौँ—इरानमाथि आक्रमण भए कब्जा गरिएका क्षेत्रहरू (इजरायल) साथै सबै अमेरिकी अड्डा र जहाजहरू हाम्रो वैध निशाना हुनेछन्।”
इजरायली स्रोतहरूले अमेरिकी हस्तक्षेपको सम्भावनालाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको बताएका छन्।
सरकारी टेलिभिजनले मृत सुरक्षाकर्मीहरूलाई ‘सहीद’ घोषणा गर्दै तीन दिनको राष्ट्रिय शोक मनाएको छ। त्यस्तै, प्रदर्शनकारीहरूलाई ‘दंगालु र आतंककारी’ को संज्ञा दिँदै आएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जारी हिंसाप्रति स्तब्ध भएको बताउँदै सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेका छन्।
यो सन् २०२२ यताकै सबैभन्दा ठूलो प्रदर्शन भएको जनाइएको छ, जसले इरानका सर्वोच्च नेता अली खामेनीको शासनका लागि गम्भीर चुनौती खडा गरेको विश्लेषकहरूको भनाइ छ।
एजेन्सी
काठमाडौं, २७ पुस- नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ दशमलव ४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। आइतबार आयोजित विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी महामन्त्री गगनकुमार थापाले उक्त जानकारी दिएका हुन्।
थापाका अनुसार पार्टीभित्र देखिएका राजनीतिक तथा संगठनात्मक विषयहरूमा छलफल र निकास खोज्न विशेष महाधिवेशन आवश्यक भएको भन्दै बहुमत प्रतिनिधिहरूले लिखित समर्थन जनाएका हुन्। पार्टी विधानअनुसार कम्तीमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग भएमा विशेष महाधिवेशन आह्वान गर्न सकिने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेका हुन्। नेपाली कांग्रेसमा देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्।
पार्टी नेतृत्व, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक परिस्थितिबारे गहन छलफल गर्ने उद्देश्यले विशेष महाधिवेशन आयोजना गरिएको नेताहरूले बताएका छन्।
काठमाडौं, २७ पुस — नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आयोजना गरिएको विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। विशेष महाधिवेशन आयोजक समितिका अनुसार कार्यक्रम आज दिउँसो १ बजे उद्घाटन गर्ने तय भए पनि केही ढिलाइका साथ उद्घाटनसत्र सुरु भएको हो।
आयोजक समितिका संयोजक पाण्डेयका अनुसार उद्घाटनसत्र सम्पन्न भएपछि भृकुटीमण्डपस्थित सभाहलमा बन्दसत्र सञ्चालन गरिनेछ। कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा भइरहेको यो महाधिवेशन दुई दिनसम्म चल्नेछ।
महाधिवेशनको पहिलो दिन आज प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी रहेको छ। आयोजकका अनुसार आठ वटा ‘स्टल’मार्फत नाम दर्ता भइरहेको छ। बिहान ८ बजेदेखि दर्ता सुरु गर्ने भनिए पनि व्यवहारमा भने बिहान ९ बजेदेखि मात्र नाम दर्ता प्रक्रिया सुरु भएको थियो।
चितवन, २७ पुस – डेढ वर्षअघि चितवनको सिमलतालस्थित त्रिशुली नदीमा खसेर बेपत्ता भएका दुई पटा बसमध्ये एकको केही अवशेष फेला परेको छ। आज फेला परेको अवशेष काठमाडौंबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बसको हुन सक्ने आशंका गरिएको छ।
२०८१ साल असार २८ गते वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस एकै दिन सिमलताल क्षेत्रमा दुर्घटनामा परेर त्रिशुली नदीमा खसेका थिए। उक्त दुर्घटनामा बसमा सवार बाराका ६२ जना यात्रु बेपत्ता भएका थिए भने ३ जना यात्रुले पौडिएर ज्यान जोगाएका थिए।
दुर्घटनापछि सुरक्षाकर्मी, स्थानीय तथा विभिन्न निकायको सहयोगमा लामो समयसम्म खोजी कार्य सञ्चालन गरिएको थियो। धेरै दिनको प्रयासपछि २४ जनाको शव मात्र फेला परेको थियो भने बाँकी यात्रुहरूको अवस्था अहिलेसम्म अज्ञात नै रहँदै आएको छ।
आज नदी किनार तथा आसपासको क्षेत्रमा खोजीका क्रममा फेला परेको अवशेष बसको संरचनासँग मिल्दोजुल्दो देखिएकाले गणपति डिलक्स बसकै हुन सक्ने अनुमान गरिएको सम्बन्धित निकायले जनाएको छ। अवशेषको यकिन पहिचानका लागि थप प्राविधिक परीक्षण तथा अध्ययन गरिने बताइएको छ।
धरान, पुस २७
इलाका प्रहरी कार्यालय धरान, सुनसरीले धरान उपमहानगरपालिका–१६ बाट प्रतिबन्धित औषधि ९ हजार ९ सय १० क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पुस २७ गते बिहान गस्तीमा खटिएको प्रहरी टोलीले धरान–१६ स्थित शंकास्पद अवस्थामा रहेको को १८ प ४२५६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त परिमाणको प्रतिबन्धित औषधि फेला पारेको हो। पक्राउ पर्नेहरूमा मोटरसाइकल चालक कोशी गाउँपालिका–१ निवासी २३ वर्षीय रोशन झा र १८ वर्षीय जय प्रकाश यादव रहेका छन्।
चेकजाँचका क्रममा उनीहरूको साथबाट ठूलो परिमाणमा प्रतिबन्धित क्याप्सुल फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिई मोटरसाइकलसहित बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रतिबन्धित औषधिसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ।