पर्सा, २२ माघ – पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी प्रतिनिधि सभा उम्मेदवार रिमा कुमारी यादवले पर्सागढी नगरपालिका–३, झबराहामा जन्तादर्शन कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नुभएको छ। प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, आवश्यकता र अपेक्षाबारे ध्यानपूर्वक सुन्नुभएको थियो। शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा खानेपानीजस्ता आधारभूत विषयमा नागरिकहरूले उठाएका जिज्ञासा र सुझावलाई सम्बोधन गर्दै उहाँले पर्सा क्षेत्रको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो।
जन्तादर्शन कार्यक्रममा बोल्दै उम्मेदवार यादवले नेकपा एमालेले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई पर्सा–२ मा व्यवहारिक रूपमा लागू गर्ने स्पष्ट धारणा व्यक्त गर्नुभयो। “स्थानीय जनताको विश्वास र साथले नै विकास सम्भव हुन्छ। यहाँका जनताले देखाएको उत्साह र समर्थनले म थप जिम्मेवार बनेकी छु,” उहाँले भन्नुभयो।
कार्यक्रममा सहभागी स्थानीय अगुवा, बुद्धिजीवी तथा युवाहरूले उम्मेदवार यादवको सरल स्वभाव, विकासमुखी सोच र जनताप्रति उत्तरदायी नेतृत्व क्षमताको खुलेर प्रशंसा गरेका थिए। उनीहरूले यस पटकको प्रतिनिधि सभा निर्वाचनमा पर्सा–२ बाट नेकपा एमाले उम्मेदवार रिमा कुमारी यादवको जित सुनिश्चित हुने विश्वास व्यक्त गरे।
स्थानीय जनसमर्थन, पार्टी संगठनको मजबुत संरचना र निरन्तर जनसम्पर्क अभियानका कारण पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेको स्थिति बलियो बन्दै गएको स्थानीयबासीको भनाइ छ। जनतामाझ बढ्दो लोकप्रियतासँगै उम्मेदवार यादव यस निर्वाचनमा विजयी हुने प्रबल सम्भावना देखिएको छ।




