आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News कांग्रेस विशेष महाधिवेशनमा आज मनोनयन, रातिदेखि मतदान

कांग्रेस विशेष महाधिवेशनमा आज मनोनयन, रातिदेखि मतदान

81

काठमाडौं, २९ पुष-   नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाएको छ। संस्थापन पक्षसँगको वार्ता निष्कर्षमा नपुगेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको समूहले एकतर्फी रूपमा निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै कार्यान्वयनमा गएको हो।
भृकुटीमण्डपमा हाल उम्मेदवारको मनोनयन फारम वितरण कार्य भइरहेको छ। निर्वाचन समितिले यसअघि दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोके पनि सो समयतालिका संशोधन गर्दै साँझ ५ बजेपछि मनोनयन दर्ता गर्ने व्यवस्था मिलाएको छ।
निर्वाचन तालिकाअनुसार मंगलबार राति ९ बजेदेखि बुधबार बिहान १:३० बजेसम्म मतदान हुने जनाइएको छ। निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि पदअनुसार फरक–फरक शुल्क पनि निर्धारण गरेको छ। सभापति पदका लागि ३० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि २५–२५ हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ तथा केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ।
महाधिवेशनबाट साविकको विधानअनुसार एक सभापति, दुई उपसभापति र दुई महामन्त्री निर्वाचित हुनेछन्। साथै महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू र पिछडिएको क्षेत्रबाट आठ जना सहमहामन्त्री तथा खुलातर्फ ३५ जना केन्द्रीय सदस्य चयन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय कार्यसमितिबाट मनोनित गरिनेछ।
महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनलाई पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले भने वैधानिकता नदिएको जनाएको छ। सहमतिको प्रयासस्वरूप विभिन्न तहमा छलफल भए पनि सहमति जुट्न नसकेपछि असन्तुष्ट पक्षले निर्वाचन प्रक्रिया अघि बढाएको बताइएको छ।