पोखरा, ११ माघ — कास्की जिल्लामा मोटरसाइकलका विभिन्न पार्टपुर्जा परिवर्तन गर्ने, साइलेंसर बिगारेर वा परिवर्तन गरी पड्किने आवाज निकाल्ने, रातिको समयमा चर्को ध्वनी प्रदूषण गर्ने तथा समाजमा शान्ति–सुरक्षामा खलल पुर्याउने गतिविधि नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले सुरु गरेको ‘Operation 365’ निरन्तर रूपमा सञ्चालनमा रहेको छ।
प्रहरीका अनुसार पछिल्लो तीन दिनको अवधिमा मात्र ३५ वटा मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ। यस अभियानअन्तर्गत हालसम्म जम्मा २५२ वटा मोटरसाइकल नियन्त्रणमा लिई कानुनी कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
अभियानको मुख्य उद्देश्य अवैध रूपमा मोटरसाइकलका संरचना परिवर्तन गर्ने, ध्वनी प्रदूषणमार्फत सर्वसाधारणलाई हैरान बनाउने तथा सार्वजनिक शान्ति–सुरक्षामा असर पुर्याउने गतिविधि रोक्नु रहेको प्रहरीले स्पष्ट पारेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले यस्ता गतिविधिमा संलग्न नहुन सवारी चालक तथा धनीहरूलाई आग्रह गर्दै, नियमविपरीत कार्य गरेमा आगामी दिनमा पनि कडाइका साथ कारबाही जारी रहने जनाएको छ।

