बहुदरमाई,पर्सा ११ बैशाख — बहुदरमाई नगरपालिका पर्सा मा आर्थिक वर्ष २०८०-८१ को दौरान विभिन्न ९ शीर्षकमा गरिएको २ करोडभन्दा बढी खर्चमा गम्भीर अनियमितता भएको खुलासा भएको छ। सार्वजनिक भएको लेखापरीक्षण प्रतिवेदनले खर्च प्रक्रियामा कानुनविपरीत कार्य भएको औंल्याउँदै पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएको छ।
प्रतिवेदनअनुसार नगरपालिकाले मसलन्द तथा कार्यालय खर्च, खाना खाजा, इन्धन, भ्रमण, सवारीसाधन मर्मत, कर्मचारी बैठक भत्ता, शैक्षिक संस्था सहायता, संघसंस्था सहयोग तथा सेवा तथा परामर्श लगायत शीर्षकमा कुल २ करोड १३ लाख ८० हजार ६०७ रुपैयाँ खर्च गरेको देखिएको छ। तर तीमध्ये धेरै खर्चको बिल भरपाई तथा प्रमाण कागजात फेला नपरेको उल्लेख गरिएको छ।
लेखापरीक्षणले केही खरिद तथा भुक्तानी प्रक्रिया कानुनसम्मत नभएको मात्र होइन, प्रक्रियागत कमजोरी र मिलेमतोको आशंका समेत देखिएको जनाएको छ। प्रतिवेदनमा नगर प्रमुख सिंगासन सा तेली, उपमेयर सुष्मा कुमारी कुशवाहा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखापाल तथा सम्बन्धित शाखाका कर्मचारीबीच समन्वयभन्दा बाहिर गएर नियम उल्लंघन गर्दै रकम निकासा गरिएको औंल्याइएको छ।
संघीय संरचनाअन्तर्गत स्थानीय तहलाई विकास र जनताको जनजीवन सुधारका लागि उपलब्ध गराइने बजेटको दुरुपयोग भएको आशंका उठेपछि स्थानीय स्तरमा असन्तोष बढेको छ। विज्ञहरूका अनुसार सार्वजनिक स्रोतको प्रयोगमा पारदर्शिता र वित्तीय अनुशासन अनिवार्य हुने भएकाले यस प्रकरणमा विस्तृत छानबिन आवश्यक देखिएको छ।
सरकारी रकम नियमविपरीत खर्च हुँदा विकास कार्य प्रभावित हुन्छ, जनताको विश्वास घट्छ र भ्रष्टाचार बढ्छ। यसले आर्थिक अनुशासन कमजोर बनाउँदै राज्य प्रणालीमै नकारात्मक असर पार्छ। त्यसैले सरकारले यस्ता अनियमिततालाई समयमै रोक्न आवश्यक देखिन्छ |
यसैबीच, सरोकारवालाहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बन्धित निकायले तत्काल अनुसन्धान अघि बढाई यथार्थ सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। दोषी ठहरिएमा कानुनी कारबाही र हिनामिना भएको रकम असुल–उपर गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ।
स्थानीय तहमा सुशासन कायम गर्ने सन्दर्भमा यो प्रकरणले गम्भीर प्रश्न खडा गरेको छ।


