काठमाडौं, कार्तिक ७ — आफैंले शरीरमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेकी गायिका नीतु पौडेलको निधन भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार पौडेलको शुक्रबार बिहान उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो।
गत शनिबार दिउँसो पौडेलले संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर आफ्नै शरीरमा पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेकी थिइन्। उनलाई तत्काल उद्धार गरी कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो।
घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार पौडेल र गायक गिरीबीच व्यक्तिगत विवाद रहेको आशंका गरिएको छ।प्रहरीका अनुसार घटनास्थलबाट केही प्रमाण संकलन गरिएको र सम्बन्धित व्यक्तिहरूलाई सोधपुछ भइरहेको छ।