सुर्खेत, वीरेन्द्रनगर ७ बैशाख — कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) ले पेट्रोलियम पदार्थमा गरिएको हालैको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष घिसिङले कर्णालीको विकट भौगोलिक अवस्था र उच्च जीवनयापन खर्चलाई मध्यनजर गर्दै इन्धनमा विशेष सहुलियत व्यवस्था गर्नुपर्नेमा जोड दिए।
उनले नेपालमा बढ्दो महँगीले सर्वसाधारण नागरिकलाई थप मारमा पारेको उल्लेख गर्दै सरकारले मूल्य नियन्त्रण र स्तरीकरणमा गम्भीर ध्यान दिनुपर्ने बताए। साथै, छिमेकी भारतमा इन्धन मूल्य स्थिर रहेको उदाहरण दिँदै उनले नेपाल सरकारले पनि नागरिकलाई राहत दिने नीति ल्याउनुपर्ने धारणा व्यक्त गरे।
घिसिङले वर्तमान मूल्यवृद्धिले विशेषगरी दुर्गम क्षेत्रका नागरिकलाई बढी असर पारेको उल्लेख गर्दै सरकारले तत्काल कदम चाल्नुपर्ने चेतावनीसमेत दिए।


