काठमाडौं, २७ चैत — नेपाल बैंकर्स संघ का प्रतिनिधि र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बीच भेटवार्ता भएको छ। अर्थमन्त्रीमा नियुक्त भएपछि वाग्लेसँग बैंकर्सले पहिलो पटक औपचारिक भेट गर्दै बैंकिङ क्षेत्रमा देखिएका समस्याबारे जानकारी गराएका हुन्।
अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रले नीतिगत अप्ठ्याराका कारण भोगिरहेका समस्याबारे स्पष्ट सुझाव दिन बैंकर्सलाई आग्रह गरेका थिए।
भेटका क्रममा बैंकर्स संघका पदाधिकारीहरूले हाल बैंकिङ क्षेत्रमा देखिएका विभिन्न जटिलताबारे अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै सुधारका मागहरू अघि सारेका छन्। उनीहरूले विशेषगरी खराब कर्जा व्यवस्थापन पुनरावलोकन गर्नुपर्ने, गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि स्थानीय तहबाट सिफारिस लिन सहजीकरण गर्नुपर्ने तथा बक्यौता आम्दानीबाट कर तिर्नुपर्ने व्यवस्थामा सहजता ल्याउनुपर्ने माग गरेका छन्।
बैंकहरूले यी व्यवस्थाका कारण वित्तीय व्यवस्थापनमा थप दबाब परेको उल्लेख गर्दै नीतिगत सुधार आवश्यक रहेको धारणा राखेका थिए।
जवाफमा अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रका व्यवहारिक समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताएका छन्।
उनले प्रि–बजेट तयारीका क्रममा बैंकहरूसँग पुनः छलफल गरी थप सुझाव लिने आश्वासन दिँदै नीतिगत सहजीकरणका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पारे।
