आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News कल्याणपुर नगरपालिकाका तत्कालीन मेयर तेली भ्रष्टाचार मुद्दामा दोषी, ६ महिना कैद र १ लाख जरिवाना

कल्याणपुर नगरपालिकाका तत्कालीन मेयर तेली भ्रष्टाचार मुद्दामा दोषी, ६ महिना कैद र १ लाख जरिवाना

114

सिराहा, २८ पुष-  सिराहाको कल्याणपुर नगरपालिकाका तत्कालीन मेयर रामपुकार साह तेली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालत काठमाडौंले सोमबार उनलाई घुस लिएको अभियोगमा ६ महिना कैद र १ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको हो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले तेलीलाई घुस लिएको अभियोगमा दोषी ठहर गर्दै उक्त फैसला सुनाएको हो । साथै अदालतले उनलाई अपराध पीडित संरक्षण कोषमा ४ हजार रुपैयाँ बुझाउन समेत आदेश दिएको छ ।
अदालतका अनुसार मेयर तेलीले नगरपालिकाको आर्थिक वर्ष २०८१–८२ को पक्की नाला निर्माण योजनाको भुक्तानी मिलाइदिने बहानामा उपभोक्ता समितिकी अध्यक्ष जसोधा कुमारीसँग १ लाख रुपैयाँ घुस मागेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई उक्त रकमसहित रंगेहात पक्राउ गरेको थियो ।
मुद्दाको सुनुवाइका क्रममा तेलीले उक्त रकम छोराको व्यापारिक कारोबारसम्बन्धी भएको दाबी गरेका थिए । तर मोबाइल फोनमा भएको संवादको स्क्रिप्ट तथा बरामद गरिएको नोटको नम्बर भिड्दा उनको दाबी असत्य सावित भएको अदालतले ठहर गरेको छ ।
यसैबीच, सोही मुद्दामा प्रतिवादी बनाइएकी उपभोक्ता समितिकी अध्यक्ष जसोधा कुमारीले भने अदालतबाट सफाइ पाएकी छन् । अख्तियारले उनले अदालतमा बयान फेरेको (होस्टायल भएको) भन्दै मुद्दा दायर गरेको भए पनि उनले जानीजानी भ्रष्टाचार गरेको पुष्टि हुने ठोस प्रमाण नपुगेको ठहर गर्दै अदालतले उनलाई सफाइ दिएको हो ।