बंगलादेश, १ मङ्सिर — अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा भएका हत्या र दमनको आरोपमा पूर्व प्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमाललाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको छ।
भारतमा शरणमा रहेकी हसिनाको अनुपस्थितिमै फैसला सुनाइएपछि बंगलादेशभर हिंसा फैलिएको छ। जनआन्दोलनपछि सत्ताच्युत भएकी हसिना विगत १५ महिनादेखि भारतमा शरण लिइरहेकी छिन् र उनको अनुपस्थितिमा नै यो फैसला सुनाइएको हो। राजधानी ढाकामा १५,००० सुरक्षाकर्मी परिचालन गरिएका छन् र हिंसात्मक प्रदर्शन रोक्न ‘देख्नेबित्तिकै गोली चलाउने’ आदेश जारी गरिएको छ।
अदालतले उनीहरूलाई हत्या, दमन, घातक हतियार प्रयोग, विद्यार्थी हत्या, निहत्था प्रदर्शनकारीको हत्या तथा गोली हानी शव जलाउने जस्ता पाँच मुख्य आरोपमा दोषी ठहर गरेको छ। साथै, हसिनाको सम्पूर्ण सम्पत्ति जफत गर्ने आदेश पनि दिएको छ। यसअघि ढाकामा दुईवटा बसमा आगजनी भएका छन् र देशभर कडा सुरक्षा सतर्कता लागू गरिएको छ।