काठमाडौँ, १ मङ्सिर : साउदी अरबको मक्का–मदिना मार्गमा सोमबार बिहान भारतीय तीर्थयात्रीहरू बोकेको बस भीषण दुर्घटनामा पर्दा कम्तीमा ४२ जनाको ज्यान गएको पुष्टि भएको छ। मक्काबाट मदिना जाँदै गरेको बस मुहरास नजिकै रही एक डिजेल ट्यांकरसँग ठोक्किएपछि तुरुन्तै आगलागी भएको र त्यसकै कारण मानवीय क्षति ठूलो भएको अधिकारीहरूले बताएका छन्।
भारतीय समयअनुसार राति करिब १ः३० बजे भएको दुर्घटनाको बेला धेरैजसो यात्रुहरू सुतिरहेका थिए, जसका कारण उनीहरूलाई भाग्ने मौका मिलेन। मृत्यु हुनेहरू सबै भारतीय नागरिक रहेको बताइिएको छ, जसमा २० महिला र ११ बालबालिका समेत समावेश छन्। तीर्थयात्रीहरू मुख्यतः हैदरावादबाट उमराहका लागि साउदी अरब पुगेका थिए।
तेलंगाना सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै रियादस्थित भारतीय दूतावाससँग निरन्तर समन्वय गरिरहेको छ। मुख्यमन्त्री रेवन्त रेड्डीले पीडितहरूको पहिचान, आवश्यक कानुनी प्रक्रिया र परिवारलाई सहयोगका लागि सम्बन्धित निकायलाई तत्काल कदम चाल्न निर्देशन दिएका छन्।स्थानीय सुरक्षाकर्मी र भारतीय अधिकारीहरूले घटनास्थलमा अनुसन्धान जारी राखेका छन्। बस पूर्ण रूपमा जलेका कारण पहिचान कार्य चुनौतीपूर्ण बनेको बताइएको छ।