मिथिला, २८ कार्तिक – मिथिला बिहारी नगरपालिका–९ का वडा अध्यक्ष ४८ वर्षीय बिन्देश्वर यादवको शुक्रबार साझ गोली प्रहारबाट हत्या भएको छ। धनुषामा गाउँमा भोजभतेरको विषयमा उत्पन्न विवाद समाधान गर्न पुगेका वडा अध्यक्ष यादवलाई स्थानीय शम्भु यादवले छातीमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ। शम्भु यादव नेपाल प्रहरीमा कार्यरत रहेको बताइएको छ। गोली प्रहारपछि घटनास्थलबाट भाग्न नपाई शम्भुलाई प्रहरी टोलीले तत्काल नियन्त्रणमा लिएको थियो।
स्थानीयका अनुसार गाउँमा दुई पक्षबीच विवाद चर्किएपछि वडा अध्यक्ष यादव मध्यस्थता गर्न पुगेका थिए। त्यही क्रममा शम्भु यादवले उनमाथि गोली चलाएको बताइएको छ। गोली लागेर गम्भीर घाइते भएका वडाध्यक्ष यादवलाई स्थानीयले उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। उनको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ |
घटनामा वडाध्यक्ष यादवका दाजु रामवरण यादव र राजकिशोर यादवमाथि धारिलो हतियारले प्रहार भएको छ। दुवैजनाको अहिले अस्पतालमा उपचार भइरहेको छ। बिन्देश्वर यादव स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए भने पछि उनी नेकपा एमालेमा प्रवेश गरेका थिए। घटनाकाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।