आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सर्लाहीको लालबन्दीमा ठूलो परिमाणको गाँजा बरामद, एक जना पक्राउ

सर्लाहीको लालबन्दीमा ठूलो परिमाणको गाँजा बरामद, एक जना पक्राउ

107

सर्लाही, लालबन्दी, १ मङ्सिर — सर्लाहीको लालबन्दीबाट प्रहरीले सोमबार बिहान ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। चुरेवर्ती क्षेत्रबाट गाँजा ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा आइतबार रातिदेखि नै प्रहरी टोली तैनाथ गरिएको थियो।

प्रहरीको सोही टोलीले सोमबार बिहान करिब ५ बजे लालबन्दी नगरपालिका–६ स्थित शिव मन्दिर नजिकबाट ३८ किलो ८९० ग्राम गाँजा बरामद गर्न सफल भएको हो। बरामद गरिएको गाँजा अटो र मोटरसाइकलमार्फत ल्याइँदै गरिएको प्रहरीले जनाएको छ।

उक्त अवैध कारोबारमा संलग्न हरिवन नगरपालिका–१, पटौनाका ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ। श्रेष्ठ अटोमा सवार रहेको र अटोबाट एक पोका तथा मोटरसाइकलबाट छ पोका गाँजा बरामद भएको इन्स्पेक्टर जोहारीले जानकारी दिनुभयो।

मोटरसाइकलमा सवार ना ६० प ५५६० मा रहेका व्यक्ति भने फरार अवस्थामा छन् र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ। लखन्देही खोलाको भित्री बाटो प्रयोग गरी गाँजा ल्याइँदै गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले बरामद गरिएको गाँजा र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि अघि बढाएको छ।