86
मकवानपुर, ३० कार्तिक — मकवानपुरमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानास्थित बुङ्दल खोला पुल नजिक दुर्घटना भएको हो।
बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरसाइकल सडकबाट झण्डै ४०–५० मिटर तल बुङ्दल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलमै दुवै जनाको मृत्यु भएको छ तर उनीहरूको पहिचान खुल्न बाँकी छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख, प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार स्थानीयवासीहरूले आइतबार बिहान दुर्घटनाग्रस्त मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान तथा विवरण सङ्कलन थालेको छ।