वीरगन्ज, ६ माघ- वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
पर्सा जिल्ला अदालतका न्यायाधीश रुद्र सुबेदीको इजलासमा मंगलबार थुनछेक बहसपछि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश भएको थियो। सोही आदेशअनुसार उनले प्रभु बैंकको ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएपछि मंगलबार नै रिहा भएका पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले जानकारी दिए।
जिल्ला सरकारी वकिलको कार्यालय पर्साले वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ अपचलन गरेको आरोपमा लामिछानेसहित २९ जनाविरुद्ध गत जेठ ३० गते सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरेको थियो। साथै, सरकारी वकिल कार्यालयले संगठित अपराध निवारण ऐन, २०७० को दफा ९ को खण्ड (क) र (ग) बमोजिम थप सजायसमेत माग गरेको छ।
बयान र थुनछेक बहसका लागि मंगलबार लामिछाने स्वयं पर्सा जिल्ला अदालतमा उपस्थित भएका थिए। थुनछेक बहसपछि अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो।
वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी अनुसन्धान सम्पन्न गरी पर्सा प्रहरीले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अध्ययनपछि अदालतमा अभियोगपत्र दर्ता गरेको जनाएको छ।


