धरान (सुनसरी), माघ ४
सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो प्वाइन्टमा आज यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको यात्रुवाहक बस आज दिउँसो करिब ४ः३० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्द्र खड्काले जानकारी दिनुभयो। दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा महोत्तरीको साम्सी गाउँपालिका–गैढाभेटपुरका धैरियाकुमार यादव, जनकपुरका १८ महिने बालक ऋषमकुमार मण्डल, सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का ओमेश राई, झापाको मेचीनगर नगरपालिका निवासी नयन थापा मगर तथा धरान उपमहानगरपालिका–१३ की सुवेक्षा सुब्बा रहेका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार जनकपुरबाट सुनसरी यातायात कार्यालयमा गाडी नामसारीका लागि आएको उक्त बस भेडेटार घुम्न गएको थियो। फर्कने क्रममा डिजेल सकिएपछि बाटोमै फर्काउने प्रयास गर्दा धरान–१३ स्थित जिरो प्वाइन्टमा दुर्घटना भएको प्रहरीको भनाइ छ।
दुर्घटनामा घाइते भएका १३ जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
81