जनकपुरधाम, ५ माघ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन शाह देशको आगामी प्रधानमन्त्री हुने दाबी गरेका छन्।
सोमबार जनकपुरधाममा आयोजित ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्दै लामिछानेले देशको नेतृत्व बालेन शाहलाई सुम्पन आफू पछि हट्न पनि तयार रहेको बताएका हुन्। उनले बालेन शाहको नेतृत्वमा रास्वपा आगामी निर्वाचनमा देशकै सबैभन्दा ठूलो पार्टी बन्ने दाबीसमेत गरे।
लामिछानेले गत निर्वाचनमा चितवनका जनताले आफूलाई सर्वाधिक मत दिएर विजयी गराएको स्मरण गर्दै अबको निर्वाचनमा त्यो विश्वास पार्टी र नेतृत्वमा रूपान्तरण हुने बताए।
“हिजो सबैभन्दा धेरै मत ल्याउने सांसद म भएको थिएँ, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी रास्वपा बन्नेछ,” उनले भने।
भावुक अभिव्यक्तिसहित लामिछानेले बालेन शाहप्रति आफ्नो भरोसा प्रकट गरे। “मैले मेरी स्वर्गीय आमाको तस्बिर हेरेर भनेको छु— आमा, बालेनले देश बनाउँछ। त्यसैले अबको प्रधानमन्त्री बालेन शाह हुन्, म उनको सारथी मात्र हुँ,” उनले भने।
सभामा सहभागी कार्यकर्ताले लामिछानेको घोषणालाई ताली र नारासहित स्वागत गरेका थिए। रास्वपाले देशमा वैकल्पिक राजनीति स्थापित गर्ने लक्ष्यका साथ अघि बढिरहेको भन्दै उनले पार्टी संगठन विस्तार र जनसमर्थन थप बलियो हुँदै गएको दाबी गरे।
133