काठमाडौं, ५ माघ – नेपाली कांग्रेसका उम्मेदवार टुंगो लगाउन सभापति गगन थापाले संसदीय बोर्डको बैठक बोलाएका छन् । आज बिहान ११ बजेदेखि बस्ने तय भएको बैठक केही बेर ढिला भई सुरु भएको छ ।
संसदीय बोर्डका एक सदस्यका अनुसार सबै पक्षलाई समेटेर टिकट वितरण गर्ने तयारी गरिएको छ । “सबै समूहलाई मिलाएर उम्मेदवार छनोट गर्ने निश्चित भएको छ । संसदीय बोर्डको बैठक बसेर अन्तिम निर्णय लिन्छौं,” ती सदस्यले बताए ।
संसदीय बोर्डमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री सदस्य छन् । पार्टीभित्र सहमति जुटाउने प्रयासस्वरूप निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षबीच हिजोदेखि निरन्तर संवाद भइरहेको बताइएको छ ।
पार्टी एकताका लागि सबै धारको सहभागितामा उम्मेदवार छनोट गर्ने गरी शीर्ष नेताहरू छलफलमा जुटेका छन् । आजको बैठकले उम्मेदवार चयन प्रक्रियालाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ ।