काठमाडौं, ६ माघ – जिल्ला प्रहरी परिसर काठमाडौंले लागू औषध कारोबारमा संलग्न एक व्यक्तिलाई लागू औषध तथा ठूलो परिमाणमा नगदसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार माघ ५ गते दिउँसो ३ः३० बजे काठमाडौं महानगरपालिका–१३, कालिमाटी टेकु क्षेत्रमा लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले कारबाही गरेको हो।
कारबाहीका क्रममा मकवानपुर जिल्ला, इन्द्रसरोवर गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१३, कालिमाटी टेकुस्थित डेरा गरी बस्ने वर्ष ३० का सुरज नगरकोटीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
डेरा कोठामा खानतलासी गर्दा लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ०.३७ ग्राम, ट्रामाडोल ९ क्याप्सुल, लागू औषध कारोबारमा प्रयोग हुने डिजिटल तराजु, नगद रु. १२,८१,००० (अक्षरेपी बाह्र लाख एकासी हजार), मोबाइल फोन (आईफोन) १ थान तथा अन्य सामग्री बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ परेका व्यक्तिमाथि लागू औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
