ललितपुर, २ फागुन — कोन्ज्योसोम गाउँपालिका- १ मा इँटा बोकेको मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय ललितपुर का अनुसार बाउनडाँडामा इँटा बोकेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक शुक्रबार राति करिब साढे ९ बजेतिर दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी परिसर, ललितपुर का प्रहरी उपरीक्षक (एसपी) एवं सूचना अधिकारी गौतम मिश्र का अनुसार दुर्घटनामा परेर घटनास्थलमै चालक ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार ४२ वर्षीय गणेश थापाको मृत्यु भएको थियो।
घाइतेलाई उपचारका लागि पाटन अस्पताल पुर्याउने क्रममा थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ५५ वर्षीय गोपी कार्कीको उपचारका क्रममा राति करिब १२ बजेतिर मृत्यु भएको हो। मृतक अर्का एक अन्दाजी ४० वर्षीय पुरुषको भने हालसम्म पहिचान खुल्न सकेको छैन।
प्रारम्भिक अनुसन्धानमा उकालो सडक र इँटाको अत्यधिक भारका कारण ट्रक ब्याक भएर दुर्घटनामा परेको आशंका गरिएको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

