काठमाडौँ, १ फागुन – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारले नाम नखुलेका व्यक्ति तथा निर्वाचन आयोगले तोकेका सात प्रकारका संस्था र निकायबाट आर्थिक सहयोग वा चन्दा लिन नपाउने भएका छन्। यो व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा गरिएको हो। निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराइका अनुसार उम्मेदवारले नेपाली नागरिक वा संगठित संस्थाले स्वेच्छाले प्रदान गर्ने आर्थिक सहयोग लिन सक्नेछन्, तर चन्दा लिन पाउने छैनन्।
आचारसंहिताअनुसार संघीय, प्रदेश र स्थानीय तहका सरकारी निकाय, सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका संस्था, पब्लिक लिमिटेड कम्पनी, सरकारी वा सामुदायिक शैक्षिक संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विदेशी सरकार वा व्यक्ति तथा नाम नखुलेका व्यक्ति वा संस्थाबाट सहयोग लिन पाइँदैन।
उम्मेदवारले कुनै व्यक्ति वा संस्थाबाट २५ हजार रुपैयाँभन्दा बढी सहयोग लिँदा बैंकिङ चेक वा ट्रान्सफरमार्फत मात्र कारोबार गर्नुपर्नेछ। साथै, मनोनयन दर्ता गर्दा अनुमानित खर्च र स्रोत खुलाउनुपर्ने तथा निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ।
उम्मेदवारले खर्चसम्बन्धी विवरण, बिल भरपाइ र आम्दानी–खर्चको अभिलेख राखी आयोगले तोकेको ढाँचामा सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान पनि आचारसंहितामा उल्लेख छ।