पर्सा, १ फागुन — पर्सा क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका–२४ बहुअरीमा नेकपा एमालेको घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादवलाई फुलमाला लगाएर स्वागत गर्दै सम्मान प्रकट गरेका थिए।
घरदैलोका क्रममा टोल–टोलमा पुगेकी यादवलाई मतदाताले खुलेर समर्थन जनाएका थिए। “रिमा यादव लक्ष्मीको स्वरूप हुन्, उनको जित निश्चित छ,” भन्दै स्थानीयले फुलमाला, अबिर–टिका लगाई सगुनस्वरूप दही तथा मिठाई खुवाएर सम्मान गरेका थिए।
उम्मेदवार यादवले घरदैलोका क्रममा स्थानीयका समस्या, गुनासा तथा सुझाव ध्यानपूर्वक सुनेकी थिइन्। आफू भाषणभन्दा काममा विश्वास गर्ने नेतृ भएको उल्लेख गर्दै उनले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा रोजगारीका क्षेत्रमा ठोस उपलब्धि हासिल गर्ने प्रतिबद्धता जनाइन्। “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” उनले भनिन्। यादवले महिलाको आवाज सदनसम्म पुर्याउन फागुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन आग्रहसमेत गरिन्।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, वडा नम्बर २४ का वडा अध्यक्ष विजय कुर्मी, वडा नम्बर २३ का वडा अध्यक्ष अवधकिशोर कुशवाहा लगायत स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। घरदैलो कार्यक्रममा युवा नेता मुकेश द्विवेदी, अजय साह, पिन्टु उपाध्याय, अमल यादव, प्रद्युम्न यादव, बिकी सिंहसहित ठूलो संख्यामा समर्थकहरूको सहभागिता रहेको बताइएको छ।