काठमाडौं, १ फागुन — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय मा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। निर्वाचन सुरक्षामा खटिने ट्राफिक प्रहरी कर्मचारीहरूलाई लक्षित गरी आयोजित उक्त कार्यक्रममा ११६ जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा निर्वाचन अवधिमा सुरक्षा व्यवस्थापनमा प्रहरीले निर्वाह गर्नुपर्ने भूमिका, निर्वाचनका क्रममा आईपर्न सक्ने सम्भावित समस्या तथा तिनको समाधानका उपाय, सुरक्षा दिनुपर्ने संवेदनशील क्षेत्रहरूको पहिचान र व्यवस्थापन, मतदान केन्द्र निर्माण गर्दा ध्यान दिनुपर्ने विषयहरू लगायतका महत्वपूर्ण पक्षहरूमा प्रशिक्षण प्रदान गरिएको थियो।
त्यसैगरी, हतियार ह्याण्डलिङ, प्रहरीको दायित्व र जिम्मेवारी, तथा निर्वाचन आचारसंहिता, २०८२ अन्तर्गत सुरक्षा निकाय, सुरक्षाकर्मी तथा सुरक्षासम्बद्ध कर्मचारीले पालना गर्नुपर्ने आचरण सम्बन्धी विषयमा पनि विस्तृत जानकारी गराइएको थियो। साथै, निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति २०७७ सम्बन्धी प्रावधानहरूबारे समेत प्रशिक्षण दिइएको थियो।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यले आयोजना गरिएको उक्त अनुशिक्षण कार्यक्रमले ट्राफिक प्रहरी कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न थप सक्षम बनाउने विश्वास गरिएको छ।