काठमाडौं, २८ चैत । सरकारी विद्युतीय बोलपत्र प्रणाली (ई–गभर्मेन्ट प्रोक्युपमेन्ट सिस्टम) ह्याक गरी ठूलो रकमका ठेक्का हात पार्ने गिरोहबारे गम्भीर खुलासा भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र साइबर ब्यूरोले संयुक्त रूपमा यस प्रकरणको अनुसन्धान अघि बढाइरहेका छन्।
अनुसन्धानका क्रममा ह्याकरहरूको सहयोगमा केही निर्माण व्यवसायीहरूले बोलपत्रको आर्थिक प्रस्ताव खोलिनु अघि नै डकुमेन्टमा हेरफेर गरेको तथ्य फेला परेको हो। यसबारे उजुरी परेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले साइबर ब्यूरोलाई औपचारिक रूपमा छानबिन गर्न पत्राचार गरेको थियो।
संयुक्त अनुसन्धानका क्रममा अहिलेसम्म ६ जना निर्माण व्यवसायी पक्राउ परिसकेका छन्। पक्राउ पर्नेहरूमा दिवाकर देउजा, भरत धामी, संजय भट्ट, भाष्कर अर्याल, सागर कटुवाल र जीवनकुमार दास रहेका छन्। उनीहरूलाई विभिन्न मितिमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यद्यपि, ठूला आयोजनाका अर्बौं रुपैयाँका ठेक्का हत्याउने मुख्य ठेकेदारहरू अझै फरार रहेका छन्। काठमाडौं उपत्यका खानेपानी लिमिटेड लगायतका आयोजनामा संलग्न आशिष निर्माण सेवाका अध्यक्ष ऋषिकेश गौली र उनका छोरा निर्माण गौलीविरुद्ध पनि पक्राउ पूर्जी जारी भइसकेको छ।
प्रहरी स्रोतका अनुसार निर्माण गौली भारततर्फ फरार भएको आशंका गरिएको छ भने ऋषिकेश गौली काठमाडौंस्थित घरमा नरहेको र अन्यत्र लुकेर बसेको अनुमान गरिएको छ। उनीहरूको खोजीका लागि सीआईबीको टोली परिचालन गरिएको छ।
यस प्रकरणमा खानेपानी, सहरी विकास मन्त्रालय, नेपाल आयल निगम तथा विभिन्न जलविद्युत आयोजनाका ठेक्कामा समेत अनियमितता भएको आशंका गरिएको छ। विद्युतीय बोलपत्र प्रणालीमै ह्याक गरेर ठेक्का लिने कार्यमा ठूला निर्माण व्यवसायी संलग्न रहेको भन्दै व्यापक उजुरी परेपछि सम्बन्धित निकायहरूले अनुसन्धान तीव्र पारेका छन्।
यस घटनाले सार्वजनिक खरिद प्रणालीको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ भने डिजिटल पूर्वाधारको मजबुतीकरणको आवश्यकता पुनः औंल्याएको छ।