काठमाडौं, २५ चैत — नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गत उपलब्ध २८ दिने प्याकेजहरूको अवधि बढाएर ३० दिन कायम गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। कम्पनीले ‘कम्बो–२९९ प्याक’ मा यो सुविधा मङ्गलबार रातिदेखि लागू गरेको जनाएको छ।
उक्त निर्णय बिक्रम तिमिल्सिना नेतृत्वको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल टेलिकमबीच भएको छलफलपछि तत्काल कार्यान्वयनमा आएको हो।
नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक रीना डंगोल का अनुसार हाल एउटा २८ दिने प्याकेजलाई ३० दिनमा रूपान्तरण गरिसकिएको छ भने आगामी वैशाख ११ गतेसम्म सबै यस्ता प्याकेजहरूलाई ३० दिनमा रूपान्तरण गरिसक्ने योजना रहेको छ।
यस नयाँ व्यवस्थाबाट एनटिसीका ग्राहकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। अब प्रयोगकर्ताले महिनामा एकपटक मात्र रिचार्ज गर्दा पुग्नेछ, जसले सेवा प्रयोगलाई अझ सहज बनाउने विश्वास गरिएको छ। साथै, उही मूल्यमा दुई दिन बढी सेवा पाउने भएकाले ग्राहकले डेटा, भ्वाइस तथा एसएमएसमा थप सुविधा उपभोग गर्न सक्नेछन्।