आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वीरगञ्जमा ‘भविष्य मेला २०२६’ वैशाख ५ मा आयोजना हुँदै

वीरगञ्जमा ‘भविष्य मेला २०२६’ वैशाख ५ मा आयोजना हुँदै

63

वीरगञ्ज, २८ चैत — पर्सा, बारा र रौतहटसहित अन्य जिल्लाबाट एसइई दिएका विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै ‘भविष्य मेला २०२६’ को दोस्रो संस्करण आगामी वैशाख ५ गते शनिवार भब्य रुपमा आयोजना हुने भएको छ। मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सिद्धार्थ दियालो होटल मा सञ्चालन हुनेछ।

एड्स बी मिडियाको आयोजनामा हुने एकदिने शैक्षिक तथा करियर मेलामा ८ हजारभन्दा बढी विद्यार्थी तथा अभिभावक सहभागी हुने अनुमान गरिएको छ। कार्यक्रम निर्देशक नवीन कार्कीका अनुसार, मेला केवल शैक्षिक प्रदर्शनी मात्र नभई विद्यार्थीको शैक्षिक, व्यावसायिक र व्यक्तिगत भविष्य निर्माणमा सहयोग गर्ने मञ्च हुनेछ।

मेलाको मुख्य उद्देश्य विज्ञान, व्यवस्थापन, कानुन, पत्रकारिता, इन्जिनियरिङ, चिकित्सा लगायत विभिन्न विषयबारे जानकारी दिनुका साथै उपयुक्त विषय र कलेज छनोटमा मार्गदर्शन गर्नु रहेको छ। साथै, निःशुल्क करियर काउन्सिलिङ, छात्रवृत्ति जानकारी र वित्तीय सहायतासम्बन्धी परामर्श पनि उपलब्ध हुनेछ।

यसपटक सहभागीहरूका लागि मोबाइल, एयरबड्स, पावर बैंकजस्ता पुरस्कारको व्यवस्था गरिएको छ। कलेजहरूले पूर्ण तथा आंशिक छात्रवृत्ति पनि प्रदान गर्नेछन्।

मेलामा निःशुल्क डिम्याट र बैंक खाता खोल्ने सुविधा, आँखा परीक्षण, नेपाल टेलिकम का सिम वितरणलगायत सेवा पनि उपलब्ध हुनेछन्।
गत वर्षको पहिलो संस्करणमा १० जिल्लाबाट ५ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए।

आयोजक एड्स बी मिडियाका संचालक हिमान्सु बरनवालका अनुसार यस वर्षको मेला अझ व्यवस्थित र प्रभावकारी हुने  बताएका छन ।