वीरगञ्ज, चैत ९, २०८२ – म्याग्दी–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. महावीर पुन सांसद भएपछि पनि आफ्नै आत्मकथामा आधारित किताब बिक्री गर्ने कार्य जारी राखेका छन्। आज सोमबार बिहान घण्टाघर चोकमा उनले १ सय ५० थान किताब बिक्री गरेका छन्।
पुनले भने, “संसद बैठक नभएको बेला किताब बेच्दै हिँड्नेछु। यसबाट संकलित रकमले वीरगञ्ज कृषि औजार कारखाना अझ ठूलो र गुणस्तरीय बनाउने लक्ष्य छ।” उनले यसअघि निरन्तर ५ सय २६ दिनमा करिब २ लाख ५० हजार थान किताब बिक्री गरी खर्च कट्टा गरेर १२ करोड रुपैयाँ जुटाइसकेका छन्।
दुई दशकदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रले मर्मत सम्भार गरी सञ्चालन गर्दै आएको छ। हाल कारखानामा करिब ५ दर्जन भन्दा बढी प्रकारका कृषि औजार उत्पादन भई बिक्री वितरण भइरहेको महाविर पुनले बताए ।
पुन देशका विभिन्न स्थानमा किताब बिक्री अभियान गर्दै आएको र संकलित रकमलाई कारखाना सञ्चालनमा लगानी हुने बताइए।
![]()

