काठमाडौँ, १५ चैत – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वैशाख १ गतेदेखि विद्यालय तह र उच्च शिक्षा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा तथा ब्रिज कोर्स कार्यक्रमहरू बन्द हुने भएको सूचना जारी गरेको छ।
मन्त्रालयका अनुसार, विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान र शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीहरूका लागि अनावश्यक आर्थिक बोझ पनि सिर्जना गर्ने भएकाले यो निर्णय गरिएको हो।
धेरै संस्थाहरूले भर्ना प्रक्रिया सुरु हुनुभन्दा अगाडि नै विद्यालय तथा उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित कक्षा सञ्चालन गर्दै आएका छन्। मन्त्रालयले यस्ता कार्यक्रमहरू संचालन भएको भए त्यसको अनुगमन गरी कानुनी कारबाही अगाडि बढाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरेको छ।
शिक्षा मन्त्रालयले अभिभावक तथा विद्यार्थीहरूलाई पनि यस निर्णयबारे सचेत रहन र अनधिकृत कार्यक्रममा सहभागिता नगर्न आग्रह गरेको छ।
