काठमाडौँ, ६ कार्तिक – नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले लगातार दोस्रो जित हात पारेको छ। शनिबार भएको दोस्रो खेलमा विराटनगरले काठमाण्डु गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै अंक तालिकामा महत्वपूर्ण अग्रता बनाएको छ।
सुरुमा ब्याटिङ गरेको काठमाण्डुले २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रनको योगफल खडा गरेको थियो। लक्ष्यको लागि मोहम्मद आदिल आलमले सर्वाधिक ४८ रन जोड्दै इनिङ्स सम्हालेका थिए।
जवाफी रूपमा मैदान उत्रिएको विराटनगरले १७ ओभर १ बलमै ५ विकेटको क्षतिमा १३५ रन पुर्याएर सहज जित निकालेको हो। विराटनगरका जर्ज मुन्सेले सर्वाधिक ३६ रन बनाएर टोलीको जितमा योगदान दिए। बलिङतर्फ काठमाण्डुका साहब आलमले २ विकेट लिएका थिए भने करण केसी, सन्तोष यादव र गेरहार्ड इरास्मसले एक–एक विकेट लिए।
यो जितसँगै दुई खेलबाट विराटनगरले चार अंक जोडेको छ। यसअघि उसले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको थियो।काठमाण्डुले भने लगातार दोस्रो हार बेहोर्नुपरेको छ। उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको काठमाण्डु दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो।
