आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News प्रतिगामी षड्यन्त्रविरुद्ध एमालेको ‘शक्ति प्रदर्शन’ आज काठमाडौंमा

प्रतिगामी षड्यन्त्रविरुद्ध एमालेको ‘शक्ति प्रदर्शन’ आज काठमाडौंमा

88

काठमाडौँ, ६ मङ्सिर –  नेकपा एमालेले प्रतिगामी कदम तथा असंवैधानिक गतिविधिको विरोध गर्दै जनपरिचालन कार्यक्रमअन्तर्गत आज काठमाडौंमा ‘शक्ति प्रदर्शन’ गर्दैछ। बागमती प्रदेश कमिटीले आयोजना गरेको ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ प्रदर्शनीमार्गबाट सुरु भएर भृकुटीमण्डपमा आमसभामा परिणत हुनेछ।

एमालेले प्रतिनिधिसभाको पुनर्स्थापनालाई मुख्य माग राख्दै आजको जनसभालाई शक्ति प्रदर्शनको रूपमा अघि सारेको हो। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २३ र २४ गतेका घटनापछि ‘असंवैधानिक रूपमा प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटन’ भएको विरोधमा एमालेले देशव्यापी जनपरिचालन चलाउँदै आएको छ।

गौतमका अनुसार वडा, पालिका र जिल्ला तहमा जनपरिचालनका कार्यक्रमहरू पूरा भइसकेका छन्। कात्तिक २२ गते देशभरका वडामा भेला, २५ गते पालिकास्तरीय र कात्तिक २९ गते जिल्लास्तरीय जनसभा सम्पन्न गरिसकेको जानकारी उनले दिए। उनका अनुसार, आजको प्रदर्शनसँगै जनपरिचालनको पहिलो चरण समापन हुनेछ।

एमालेका नेता, कार्यकर्ता, जनसंगठन र सम्पर्क समन्वय समितिबाट निकालिने र्‍याली प्रदर्शनीमार्गमा एकत्रित हुनेछ। त्यहाँबाट रथमार्ग हुँदै रत्नपार्क परिक्रमा गरी भृकुटीमण्डपमा पुग्ने र आमसभा सञ्चालन हुने गौतमले बताए। जनसभालाई अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

गौतमका अनुसार, पहिलो चरणको अभियान समाप्त भएपछि मंसिर २७ गते काठमाडौंमै ११औँ महाधिवेशन उद्घाटनका अवसरमा अर्को विशाल जनसभा आयोजना गरिनेछ।