आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News बाराका प्रमुख जिल्ला अधिकारीद्वारा आन्दोलनरत ‘जेनजी’ युवालाई वार्ताका लागि आह्वान

बाराका प्रमुख जिल्ला अधिकारीद्वारा आन्दोलनरत ‘जेनजी’ युवालाई वार्ताका लागि आह्वान

112

सिमरा बारा, ४ कार्तिक –   बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत ‘जेनजी’ युवालाई वार्ताका लागि आह्वान गरेका छन्। जेनजी अभियानका अगुवा सम्राट उपाध्यायलाई टेलिफोनमार्फत सम्पर्क गर्दै सीडीओ मिश्रले उत्पन्न विषयको समाधान संवादबाट खोज्नुपर्ने आवश्यकता औंल्याए। उपाध्यायका अनुसार सीडीओले जिल्ला प्रशासन कार्यालयमा आएर वार्ता गर्न आग्रह गरेका थिए। तर प्रहरीको लाठीचार्जका कारण धेरै जेनजी युवा घाइते भएको भन्दै प्रशासन कार्यालयसम्म जानु जोखिमपूर्ण हुने उनीहरूको तर्क छ।

“सीडीओ साबले फोन गरेर संवादमै समाधान खोज्नु पर्छ भन्नुभएको छ। तर हामी प्रशासन कार्यालय जाँदा भीड पनि त्यहाँ जाने र थप तनाव हुने सम्भावना छ। त्यसैले उहाँहरू नै यहाँ आइदिनुहोस् भनेर हामीले अनुरोध गरेका छौं,” उपाध्यायले बताए। जेनजी समूहका प्रदर्शनकारीहरूले वार्ता इलाका प्रहरी कार्यालय सिमरामै हुनुपर्ने माग दोहोर्याइरहेका छन्। उनीहरूका अनुसार आन्दोलनकै मूल केन्द्र सिमरा भएकाले वार्ता पनि त्यहीँ निष्पक्ष ढङ्गले हुन सम्भव छ।

अहिले बारामा जेनजी युवाहरूको प्रदर्शन तीव्र बनेको छ भने प्रशासन पक्ष वार्ताबाट समाधान निकाल्न इच्छुक देखिएको छ। तर वार्तास्थानको विषयमा दुवै पक्षबीच सहमति नजुटेसम्म समाधान प्रक्रियामा ढिलाइ हुने देखिएको छ।