काठमाडौँ, ४ कार्तिक — जेन–जी विद्रोहको जगमा बनेर गठन गरिएको सुशीला कार्की नेतृत्वको सरकारले जनम्यान्डेट पूरा गर्न नसकेको आरोप लगाउँदै जेन–जीसँग सम्बद्ध २३ वटा समूह तथा एलाइन्सले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न राष्ट्रपति समक्ष माग गरेका छन्।
बिहीबार शीतलनिवास पुगेका उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै वर्तमान सरकार ‘दिशाहीन’ तथा ‘विद्रोही एजेन्डाबाट विचलित’ भएको दाबी गरे। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई तत्काल फिर्ता बोलाउन र जेन–जी नेतृत्वमा नयाँ सरकारको प्रक्रियामा राष्ट्रपति सक्रिय हुनुपर्ने सुझाव दिएका छन्। जेन–जी समूहहरूले बुझाएको ज्ञापनपत्रमा वर्तमान सरकार देशलाई केवल चाँडो चुनावतिर लैजान केन्द्रित भएको र विद्रोही पक्षले अघि सारेका महत्त्वपूर्ण एजेन्डा बेवास्ता गरिएको उल्लेख छ। ज्ञापनपत्रमा, ठूला भ्रष्टाचार प्रकरणमा संलग्नमाथि कारबाही नहुनु, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न संविधान संशोधन नहुनु, विद्रोहकालीन दमन तथा नरसंहारका घटनामा संलग्नमाथि कारबाही रोकिनु, तथा सुशासन र पारदर्शितामा सरकार कमजोर हुनु मुख्य कारण रहेको छ | जेन जी हरु भने, “विद्रोह र सहादत केवल चुनावका लागि थिएन” र वर्तमान सरकारले विद्रोही जनम्यान्डेट गुमाइसकेको छ।
‘जेन–जी नेसनल फ्रन्ट लाइनर’, ‘जेन–जी पार्लियामेन्ट’, ‘स्वतन्त्र जेन–जी नेपाल’ लगायतका संस्थाहरूले पुरानै दल वा नेतृत्वले देशको समस्याको समाधान गर्न नसक्ने निष्कर्ष निकाल्दै अब जेन–जी आन्दोलनका नेतृत्वकर्ताहरूलाई जिम्मेवारी दिनुपर्ने बताएका छन्। ज्ञापनपत्रमा भनिएको छ, “यो सरकारले विद्रोहीको माग सम्बोधन गर्न नसक्ने देखिएकोले यसलाई फिर्ता बोलाई हाम्रो नेतृत्वमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिज्यू मध्यस्थ बन्नु पर्ने अनुरोध गर्दछौँ।”उल्लेख छ |
जेन–जी समूहहरूले सरकार परिवर्तनको मागसहित राष्ट्रपति समक्ष दबाब बढाएपछि राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भएको छ। तर, राष्ट्रपति कार्यालयले उक्त ज्ञापनपत्रबारे औपचारिक प्रतिक्रिया अझै सार्वजनिक गरेको छैन।
