सप्तरी, ५ कार्तिक : सप्तरीमा ठूलो परिमाणको अवैध लागूऔषधसहित एक ट्रक चालक पक्राउ परेको छ। जिल्लाको कञ्चनरूप नगरपालिका–२, बरमझियाबाट प्रहरीले करिब ९ सय ७८ किलो गाँजा बरामद गरेको हो।
पक्राउ पर्नेमा सुनसरी, धरान उपमहानगरपालिका–१३ का २५ वर्षीय संजय श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीसहितको संयुक्त टोलीले बिहीबार राति फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको ना. ५ ख ५३५ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा गाँजा फेला पारेको हो।
प्रहरीका अनुसार ट्रकमा फल्स बटम बनाई २८ वटा बोरामा उक्त मात्रा लुकाइ–छिपाइ राखिएको थियो। विशेष सूचनाका आधारमा गरिएको निगरानीपछि ट्रक रोकिने वित्तिकै तलासी लिँदा ठूलो परिमाणमा गाँजा भेटिएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा चालक संजय श्रेष्ठलाई नियन्त्रणमा लिइएको र थप संलग्नता तथा स्रोत–गन्तव्यबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।