काठमाडौँ, ३ कार्तिक – एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्वप्रति तीव्र असन्तोष व्यक्त गरेका छन्। विघटित प्रतिनिधिसभाको एमाले संसदीय दलको बैठकमा बोल्दै उनले सरकारले संविधान र लोकतान्त्रिक मूल्यप्रतिको आफ्नो दायित्व गम्भीर रूपमा कमजोर पारेको आरोप लगाए।
ओलीले विशेष रूपमा सुदन गुरुङलाई लक्षित गर्दै संविधानको वैधता नै प्रश्न उठाउने व्यक्तिलाई सरकारी संरचनामा महत्व दिइनु “लोकतान्त्रिक मान्यतासँग पूर्ण असंगत” भएको टिप्पणी गरे। संविधान फाल्ने कि राख्ने भन्ने अभिव्यक्ति सार्वजनिक रूपमा आए पनि राज्यका आधिकारिक निकायले कुनै प्रतिक्रिया नदिएको अवस्थाले सरकारकै मनोवृत्ति प्रस्ट भएको उनले बताए।“संविधान निर्माणमा लगाइएको ठूलो राजनीतिक श्रम, सहमति र त्यागको सम्मान गर्ने जिम्मेवारी सरकारले बोक्नुपर्छ,” ओलीले भने, “तर सरकारको मौनता र दुविधाले राज्य प्रणाली नै कमजोर बन्दै गएको छ।”
उनका अनुसार यस्तो प्रवृत्तिले शासन प्रणाली अलोकतान्त्रिक दिशातर्फ धकेलिएको छ र यस्तो मनोवृत्तिको सरकारलाई वैध मान्न नै नसकिने स्थिति बन्दै गएको छ। ओलीले संविधान र लोकतान्त्रिक मूल्यप्रतिको दायित्वबाट नभाग्न सरकारलाई चेतावनीसमेत दिए।