बारा, कलैया १७ मङ्सिर — बारा जिल्लाको कलैयास्थित यातायात व्यवस्था कार्यालयमा बुधबार साँझ प्रमुख अबिन्द्र दास र खरिदार सत्यनारायण साहबीच कुटाकुट भएको छ। साँझ करिब साढे पाँच बजेतिर कार्यालयमै झगडा चर्किँदै कुटाकुटमा पुगेको प्रहरीले जनाएको छ।
घटनामा खरिदार साहको अनुहारमा चोट लागेर सुन्निएको छ भने कार्यालय प्रमुख दासको अनुहारमा समेत चिरा परेको छ। कुटाकुट भएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले दुबै जनालाई नियन्त्रणमा लिएको हो।
बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नागेन्द्र कुवरले यातायात व्यवस्था कार्यालय कलैयाको प्रमुख दास र खरिदार साहले कुटाकुट गरेको घटनाको विषय अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बारा लगिएको बताएका छन्।