बारा, १४ मङ्सिर – बाराको प्रसौनी–६ भलुहीस्थित किरण बेभरेज नेपाल प्रालिका म्यानेजर रामकिशोर सिंहको हत्या उद्योगका पूर्व चालकले गरेको खुलेको छ। सर्लाही धनकौल–२ का ५० वर्षीय सिंहको घाँटी रेटिएको अवस्थामा मृत अवस्था मंसिर १२ गते बिहान उद्योग नजिकै फेला परेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न पर्सा वीरगन्ज–२२ मनियारीका २१ वर्षीय पूर्व चालक राजनकुमार राम र उनका ३२ वर्षीय साथी प्रमोद साह तुराहालाई पक्राउ गरिएको छ। राजनकुमार भारततर्फ भाग्दै गर्दा भिस्वा नाकाबाट र प्रमोद आफ्नै गाउँबाट पक्राउ परे।
उद्योगले तोकेको ११० रुपैयाँको पानीलाई ११५–१२० रुपैयाँमा बेचेर अनियमितता गरेको पत्ता लागेपछि म्यानेजर सिंहले मंसिर १० गते राजनकुमारलाई निकालिएको थियो। यही रिसइवीमा उनले मंसिर ११ गते साथीसमेत लिएर उद्योग पुगेर घाँटी रेटी सिंहको हत्या गरेको प्रहरी अनुसन्धानले जनाएको छ। घटनास्थलबाट रगत लागेको छुरा र इँटा बरामद भएका छन्।बारा प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।