काठमाडौँ, १६ मङ्सिर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह सहित ७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ।
आयोगका अनुसार सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्याउँदै मिलेमतोमा रकम हिनामिना गरेको आरोपमा साहसहित सहायक लेखापाल विवेक कुमार सहनी, सहायक स्तर पाँचौं राम नरेश प्रसाद यादव, कम्प्युटर अपरेटर उमेश कुमार दास, खरिदार कौशल किशोर चौधरी र छोटेलाल मिश्रलाई प्रतिवादी बनाइएको छ।
यसबाहेक सरिता फाउण्डेसन काठमाडौं तथा फाउण्डेसनकी निर्देशक सरिता कुमारी साहविरुद्ध पनि सोही मुद्दामा विपक्षीका रूपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। उनीहरूविरुद्ध जनही ९ लाख ९८ हजार ९२१ रुपैयाँ विगो दाबी गरिएको छ।
आर्थिक वर्ष २०७७/७८ मा नगरसभा स्वीकृति बिना पाँच लाख रुपैयाँको चेक सरिता फाउण्डेसनका नाममा काटी रकम हिनामिना भएको उजुरी आयोगमा दर्ता भएपछि अनुसन्धान सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा प्रतिवादीहरूले मिलेमतोमा बदनियतपूर्वक कुल ९ लाख ९८ हजार ९२१ रुपैयाँ सरकारी कोषबाट भुक्तानी लिइ–दिई हिनामिना गरेको प्रमाण ठहरिएपछि सोही बराबरको विगो तथा कानुनी सजाय मागसहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।