काठमाडौँ,१३ मंसिर – वैदेशिक रोजगारले नेपाली अर्थतन्त्रलाई ठूलो सहारा पुर्याइरहे पनि यसको पीडादायी पक्ष वर्षैभरि दोहोरिने दुःखान्त घटनाहरूले उजागर भइरहेकै छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा मात्र ५१० नेपाली युवाले विदेशी भूमिमा अकालमै ज्यान गुमाएका छन्। यो औसतले हरेक महिना १२७ र दैनिक चार जना श्रमिकको शव बन्द बाकसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्दै आएको भयावह वास्तविकता देखिन्छ। वैदेशिक रोजगार बोर्डको सचिवालयमार्फत आर्थिक सहायता लिने मृतकको तथ्याङ्कमा आधारित यो संख्या अझै सम्पूर्ण चित्र होइन। आर्थिक सहायता नलिने वा पाउन नपाउने श्रमिकका मृत्युसमेत गणना गर्दा वास्तविक संख्या थप उच्च हुने बोर्डका अधिकारीहरू बताउँछन्।
चार महिनाको अवधिमा मृतक श्रमिकका परिवारले बोर्डको कल्याणकारी कोषबाट ५१ करोड रुपैयाँ सहायता प्राप्त गरेका छन्। श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकको मृत्यु भएमा प्रति मृतक १० लाख रुपैयाँ प्रदान गरिँदै आएको छ। यद्यपि, मापदण्डमा नपर्ने श्रमिकको मृत्युका घटना छुट्ने भएकाले समग्र मृत्यु दर अझै भयावह देखिन्छ। यसै अवधिमा विभिन्न कारणले अङ्गभङ्ग भएका २९५ श्रमिकले न्यूनतम एक लाखदेखि बढीमा १० लाख रुपैयाँसम्मको सहयोग पाएका छन्। बोर्डका अनुसार २०६५/६६ साउनदेखि कात्तिक २०८२/८३ सम्म कुल १५ हजार ३५८ नेपाली श्रमिकको मृत्यु भइसकेको छ, जसले वैदेशिक रोजगारीको जोखिमपूर्ण पक्षलाई स्पष्ट देखाउँछ। तीमध्ये सबैभन्दा धेरै मृत्यु मलेसियामा भएका छन्।
यस वर्ष चार महिनामा मात्र दुई लाख ८३ हजार ६१० नेपाली युवा वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। यति ठूलो संख्यामा श्रमिक विदेशिनुपर्ने र उनीहरूमध्ये ५१० जनाले ज्यान गुमाउनुपर्ने अवस्था ‘सामान्य’ कदापि मान्न नसकिने श्रम तथा आप्रवासन विज्ञहरू बताउँछन्। श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालका अनुसार विदेशमा हुने नेपाली श्रमिकको मृत्यु दर अस्वाभाविक रूपमा उच्च छ। पर्याप्त प्रशिक्षण, सिप, स्वास्थ्य परीक्षण तथा सुरक्षाको ग्यारेन्टीबिनै श्रमिक पठाइँदा दुर्घटना र आकस्मिक मृत्युका घटनाहरू बढ्न पुगेका हुन्। मृत्यु दर केही हदसम्म घटाउन सकिने भए पनि राज्यका जिम्मेवार निकायले प्रभावकारी पहल नगरेको उनको भनाइ छ।
वैदेशिक रोजगारी बोर्डले गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै एक हजार ५१७ नेपाली श्रमिकले विभिन्न कारणले ज्यान गुमाएको उल्लेख गरेको छ। कार्यस्थल दुर्घटना, सडक दुर्घटना, हृदयाघात, आत्महत्या तथा सुतेकै अवस्थामा हुने प्राकृतिक मृत्युजस्ता कारण प्रमुख रहेको प्रतिवेदनमा उल्लेख छ। विदेश जाने १८ देखि ४५ वर्ष समूहका युवाको नेपाल र विदेशमा हुने मृत्यु दरको तुलनात्मक अध्ययन सरकार वा कुनै निकायले गरेको छैन। त्यस्तो अध्ययन भए विदेशमा हुने मृत्युका कारण पहिचान गर्न, स्वास्थ्य मापदण्ड कडा पार्न तथा जोखिम न्यूनीकरण गर्न उपयोगी हुने विज्ञहरूको सुझाव छ।वैदेशिक रोजगारीले अर्थतन्त्रको मेरुदण्डजस्तै भूमिका खेलिरहे पनि पछिल्लो तथ्याङ्कले श्रमिक सुरक्षाप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता झनै प्रस्ट देखिएको छ।