काठमाडौँ, १४ मङ्सिर — चिकित्सा शिक्षा आयोगको आइतबार सिंहदरबारमा बसेको बैठकले सरकारी तथा निजी क्याम्पसका लागि पोस्ट–ग्रेजुएट (पिजी) अध्ययनका लागि विद्यार्थी कोटा निर्धारण गरेको छ।
प्रधानमन्त्री तथा शिक्षा आयोगका अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले देशभरका कलेज तथा शिक्षण संस्थाहरूलाई कति सिट प्रदान गर्ने भन्ने विषयमा विस्तृत छलफल गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सरकारी क्याम्पसलाई करिब एक हजार भन्दा बढी र निजी क्याम्पसलाई एक हजारभन्दा अलिकति कम सिट प्रदान गरिने निर्णय भएको जानकारी दिए।
‘चिकित्सा शिक्षा आयोगको बैठकमा पोस्ट ग्रेजुएट पढ्ने विद्यार्थीहरूको सिट विभाजनबारे छलफल सम्पन्न भयो,’ मन्त्री पुनले भने, ‘सरकारी कलेजलाई बढी र निजीलाई थोरै कम सिट दिनेगरी समायोजन गरिएको छ। यसबारे सबै पक्ष खुसी छन्।’
यसैगरी बैठकले चिकित्सा शिक्षा क्षेत्रमा पिजी तहको अध्ययनलाई व्यवस्थित, पारदर्शी र आवश्यकताअनुसार सन्तुलित बनाउने उद्देश्यले सिट निर्धारण प्रक्रिया अघि बढाइएको पुन ले बताउनु भएको छ।