आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News म्यादी प्रहरीलाई ‘निर्वाचन प्रहरी’ नामकरण, ४० दिनका लागि भर्ना प्रक्रिया अघि बढ्यो

म्यादी प्रहरीलाई ‘निर्वाचन प्रहरी’ नामकरण, ४० दिनका लागि भर्ना प्रक्रिया अघि बढ्यो

114

काठमाडौँ, १६ मङ्सिर –  आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षार्थ भर्ना गरिने अस्थायी जनशक्तिलाई अब ‘म्यादी प्रहरी’ होइन, ‘निर्वाचन प्रहरी’ नाम दिइने भएको छ। नेपाल प्रहरी मातहत रहने गरी सञ्चालन हुने यो व्यवस्थालाई नयाँ पहिचान दिन गृह मन्त्रालयले निर्णय गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार नाम परिवर्तनसँगै निर्वाचन सुरक्षा व्यवस्थालाई अझ व्यवस्थित, जिम्मेवारीपूर्ण र उद्देश्यअनुरूप बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ। “म्यादी प्रहरीको साटो निर्वाचन प्रहरी नामकरण गरेर ४० दिनको कार्यअवधिसहित भर्ना प्रक्रिया अघि बढाइएको छ,” काफ्लेले बताए। उनका अनुसार नाम परिवर्तन मात्र प्रमुख कुरो नभए पनि निर्वाचनका लागि खटिने जनशक्तिको भूमिकासँग अनुरूप पहिचान प्रदान गर्न यसले सकारात्मक प्रभाव पार्नेछ।

निर्वाचन प्रहरी व्यवस्थापनका लागि ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०८२’ को मस्यौदा नेपाल प्रहरी प्रधान कार्यालयमार्फत तयारी भइरहेको छ। मापदण्ड अन्तर्गत निर्वाचन प्रहरीलाई छनोटदेखि मत परिणाम सार्वजनिक नहुन्जेलसम्म कार्यअवधि निर्धारण गरी परिचालन गरिनेछ। निर्वाचन प्रहरीलाई प्रहरी जवानले पाउने आधारभूत तलबमान अनुसार पारिश्रमिक प्रदान गरिनेछ। साथै सरहको रासन भत्ता, पोसाक भत्ता, यात्रा भत्ता तथा विगतमा प्रदान गर्दै आएको खाजा खर्च पनि उपलब्ध गराइनेछ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा म्यादी प्रहरीलाई ४० दिनका लागि प्रतिदिन ८६९ रुपैयाँका दरले ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक दिइएको थियो। साथै ७ हजार २ सय रासन भत्ता, हिमाली जिल्लामा स्थानीय दरअनुसार अतिरिक्त रासन, पोसाकका लागि ६ हजार, ज्याकेट किन्न १ हजार, यातायात खर्चका लागि १ हजार तथा तीन दिनका लागि दैनिक ३०० का दरले खाजा उपलब्ध गराइएको थियो। यसपटक भने नयाँ नामकरण र अद्यावधिक मापदण्डसहित निर्वाचन सुरक्षामा अझ प्रभावकारी व्यवस्थापन हुने मन्त्रालयको अपेक्षा छ।