नरसिंहदी (बङ्गलादेश), ११ माघ –
बङ्गलादेशको नरसिंहदी जिल्लामा एक हिन्दु युवकलाई पेट्रोल खन्याएर जिउँदै जलाइएको घटनाले देशमा अल्पसंख्यक समुदायको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। ग्यारेजमा सुतिरहेका बेला भएको आगलागीबाट युवकको मृत्यु भएको हो।
मृत्यु हुने युवक चञ्चल चन्द्र भौमिक रहेको पुष्टि भएको छ। वरिष्ठ पत्रकार सलाहउद्दीन शोएब चौधरीका अनुसार घटना शुक्रबार राति भएको हो। चञ्चल कोमिला जिल्लाको लक्ष्मीपुर गाउँका बासिन्दा थिए। पिताको निधनपछि परिवारको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा रहेको बताइएको छ। उनकी आमा बिरामी र एक भाइ दिव्याङ्ग रहेका छन्।
चञ्चल विगत ६ वर्षदेखि नरसिंहदीमा रुबल मियाँको ग्यारेजमा काम गर्दै आएका थिए। स्थानीय स्रोतका अनुसार काम सकेर ग्यारेजमै सुतेका बेला अज्ञात व्यक्तिले उनमाथि पेट्रोल खन्याएर आगो लगाएका थिए। नजिकैको सीसीटीभी फुटेजमा आगो लगाएपछि पनि आरोपी केही समय घटनास्थलमै उभिएको देखिएको जनाइएको छ।
घटनापछि परिवारले यसलाई योजनाबद्ध हत्या भएको आरोप लगाएको छ भने स्थानीयवासीहरूले धार्मिक कारण हुनसक्ने आशङ्का व्यक्त गरेका छन्। यस घटनाले बङ्गलादेशका हिन्दु समुदायमा भय र असुरक्षाको वातावरण फैलिएको छ।
हिन्दु सङ्गठनहरूले घटनाको कडा निन्दा गर्दै दोषीलाई तत्काल पहिचान गरी कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। स्थानीय प्रशासनले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ |

