पर्सा, १० माघ – आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय कार्यकर्ता भेला आज वीरगंजको टाउन हलमा भव्य रूपमा सम्पन्न भएको छ। भेलामा पर्सा जिल्लाका चारै वटै प्रतिनिधि सभा क्षेत्रका उम्मेदवारहरू अनिल रुन्गटा (क्षेत्र नं. १), अजय कुमार चौरसिया (क्षेत्र नं. २), सुरेन्द्र प्रसाद चौधरी (क्षेत्र नं. ३) र रमेश रिजाल (क्षेत्र नं. ४) यस्तै पूर्वमन्त्री जनार्दन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी लगायतकाहरु उपस्थित रहेका थिए।
भेलामा सहभागी वक्ताहरूले एकताको सन्देशलाई जोड दिँदै पर्सा जिल्लाका चारै क्षेत्रको जित सुनिश्चित गर्न साझा संकल्प व्यक्त गरे। सहभागी नेताहरूले सबै नेता, कार्यकर्ता र आम जनता एकजुट भएर मात्र कांग्रेसको एकतालाई बलियो बनाउन सकिने र चुनावमा सफल हुनेमा विश्वास व्यक्त गरे।
पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुन्गटाले आफ्नो सम्बोधनमा भने, “एकतामै शक्ति हुन्छ। हामी सबै एक ढिक्का भएर इमान्दारीपूर्वक चुनावमा लाग्नुपर्छ। संगठन, समर्पण र समन्वयकै माध्यमबाट मात्र पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ।”
भेलामा हजारौं कांग्रेस समर्थकहरूको उपस्थितिले कार्यकर्ता र उम्मेदवारबीचको सम्बन्धलाई अझ मजबुत बनाएको थियो। नेताहरूले कार्यकर्तालाई पार्टीको मूल्य, नीति तथा उद्देश्यप्रति सचेत र प्रतिबद्ध हुन आग्रह गरे।
कार्यक्रमको मुख्य उद्देश्य आगामी निर्वाचनमा पर्सा जिल्लाका चारै क्षेत्रहरूमा नेपाली कांग्रेसको जित सुनिश्चित गर्नु र पार्टीभित्रको एकता र समन्वयलाई बलियो बनाउनु उम्मेदवारहरुको भनाई रहेको थियो।
भेलाको अन्त्यमा सबै सहभागीहरूले एकजुटता र बलियो संगठनको महत्वलाई स्मरण गर्दै “पर्सा एकजुट, कांग्रेस मजबूत” को नारासहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।