बागलुङ, १० माघ – सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयभित्र देखिने कुनै पनि प्रकारका गलत प्रवृत्ति स्वीकार्य नहुने बताएका छन्। उनले न्यायिक प्रक्रियाको निष्पक्षता र पारदर्शितामा बाधा पुर्याउने गतिविधिप्रति शून्य सहनशीलता अपनाइने स्पष्ट पारे।
बागलुङ बजारमा उच्च अदालत पोखरा बागलुङ इजलासको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश राउतले कानुन व्यवसायी र न्यायाधीशबीचको सम्बन्ध नितान्त व्यवसायिक हुनुपर्नेमा जोड दिए। “हामीले कठोर आत्मसमीक्षा सुरु गरेका छौँ। हाम्रो व्यवसायिक सम्बन्धलाई धुमिल बनाउने कुनै पनि ‘रङ एलिमेन्ट’ सह्य हुँदैन,” उनले भने।
उनले सबै सरोकारवाला आफ्नो मर्यादाभित्र रहेर न्याय सम्पादन प्रक्रियामा सहयोग गर्नुपर्ने बताए। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा अदालत आफैं जलेको नभई नियोजित रूपमा जलाइएको दाबी गर्दै उनले यस घटनाबाट न्यायप्रति नागरिकको विश्वास कमजोर पार्ने प्रयास भएको बताए।
प्रधानन्यायाधीश राउतका अनुसार आगलागीका क्रममा सर्वोच्च अदालतमा रहेका २२ हजार मिसिलमध्ये हालसम्म १४ हजार मिसिल संकलन भइसकेका छन्। बाँकी मिसिल संकलनका लागि कानुन व्यवसायी र सरकारी वकिल कार्यालयसँग समन्वय भइरहेको उनले जानकारी दिए। “करिब पाँच हजार मिसिल सरकारी वकिल कार्यालयमा छन्, ती पनि चाँडै ल्याइनेछ,” उनले भने।
उनका अनुसार आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित देशभरका २३ वटा अदालतमा क्षति पुगेको छ। अदालतमा भएको आगलागीपछि न्याय प्रणालीमाथि गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गर्दै उनले अदालत नियमित कामकाजमा फर्किसकेको पनि जानकारी दिए।