काठमाडौँ, १० माघ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी आगामी दिनमा आन्दोलनमा उत्रिने कि चुनावमा सहभागी हुने भन्ने विषयमा अझै निर्णय भइनसकेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले आफूहरूमाथि अपमानजनक व्यवहार गरिरहेको आरोप लगाए।
अध्यक्ष ओलीले झापाबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई अनावश्यक रूपमा चेकजाँच गरेर हैरान पारिएको गुनासो गरे। “मलाई सुन तस्कर हो कि जस्तो गरी चेकिङ गरियो,” उनले भने, “यो सरकार हामीलाई दुःख दिने कामतिर लागेको छ।”
उनले वर्तमान सरकारलाई अराजनीतिक र असभ्यको संज्ञा दिँदै सरकारको नियत नै नेताहरूको अपमान गर्ने रहेको आरोप लगाए। “त्यो व्यवहार ममाथि देखियो,” ओलीले भने, “सभ्य संसारमा हामी छैनौँ कि जस्तो लागेको छ।”
ओलीले सरकारको यस्तो रवैयाप्रति पार्टी गम्भीर रहेको उल्लेख गर्दै आगामी रणनीतिबारे आवश्यक छलफलपछि निर्णय लिइने बताए।