काठमाडौँ, ११ माघ — निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ। आयोगले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै आमसभा, जुलुस तथा विभिन्न प्रचार गतिविधिमा बालबालिकाको सहभागिता गराउन नहुने स्पष्ट पारेको हो।
यसअघि ‘जेनजी फ्रन्ट’ ले विज्ञप्ति जारी गर्दै फागुन २१ गते हुने चुनावमा बालबालिकाको प्रयोग भइरहेको विषयप्रति आपत्ति जनाएको थियो। फ्रन्टले चुनावी गतिविधिमा बालबालिकालाई प्रयोग गरिएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
निर्वाचन आचारसंहिताले राजनीतिक गतिविधि र चुनावी प्रचार सामग्रीमा बालबालिकाको अनुहार, नाम वा सहभागिताको प्रयोगलाई स्पष्ट रूपमा निषेध गरेको छ। तर नेपालमा विगतका चुनावहरूमा विभिन्न राजनीतिक दलहरूले बालबालिकालाई र्याली तथा जुलुसमा नाचगान गराउने, नारा लगाउने र पोस्टर बोक्न लगाउने अभ्यास गर्दै आएको देखिन्छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत समेत बालबालिकालाई उम्मेदवारको पक्षमा प्रचार गर्न लगाइएका उदाहरणहरू भेटिँदै आएका छन्।
अन्तर्राष्ट्रियस्तरमा चुनावी प्रचारमा बालबालिकाको प्रयोगलाई बालअधिकारको उल्लङ्घन मानिन्छ। संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धि–१९८९ तथा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) का महासन्धिहरूले बालबालिकालाई राजनीतिक शोषणबाट संरक्षण गर्ने व्यवस्था गरेका छन्। साथै विश्वका धेरै प्रजातान्त्रिक देशहरूमा चुनावी कानुनमार्फत नै बालबालिकालाई प्रचारप्रसारमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ।
निर्वाचन आयोगले आचारसंहिताको पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई आग्रह गर्दै बालबालिकाको हकहितको सम्मान गर्नुपर्नेमा जोड दिएको छ।