काठमाडौं, ८ माघ- नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। यससम्बन्धी औपचारिक निर्णय लिन पार्टी केन्द्रीय कार्यसमिति बैठक शुक्रबार दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्दैछ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले केन्द्रीय कार्यसमितिको बैठकबाट थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा औपचारिक घोषणा गरिने जानकारी दिए। उनका अनुसार बैठकपछि सभापति थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ तर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।
सभापति थापा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही–४ बाट उम्मेदवार भइसकेका छन्। उनका तर्फबाट कांग्रेसका मधेस प्रदेशसभा सदस्य वीरेन्द्र सिंह नेतृत्वको टोलीले माघ ६ गते निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वारेसमार्फत उम्मेदवारी दर्ता गराएको थियो।
गत पुस ३० गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको पुरानो केन्द्रीय कार्यसमिति विघटन गर्दै गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो। पार्टीभित्र देखिएको आन्तरिक कलहका कारण नवनिर्वाचित कार्यसमितिले हालसम्म केन्द्रीय कार्यालय सानेपामा बैठक नगरी बाहिरै विभिन्न स्थानमा बैठक गर्दै आएको थियो। शुक्रबारको बैठक नयाँ कार्यसमिति चयनपछि सानेपामा बस्ने पहिलो औपचारिक बैठक हो।
कांग्रेस नेतृत्वले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार अग्रिम रूपमा सार्वजनिक गर्ने निर्णयलाई आगामी निर्वाचनका लागि पार्टीको स्पष्ट राजनीतिक सन्देशका रूपमा लिएको छ। प्रधानमन्त्रीको उम्मेदवार पहिल्यै घोषणा गरेर चुनावी अभियानलाई थप सशक्त बनाउने र पार्टी नेतृत्वमा एकरूपता देखाउने रणनीति अपनाइएको कांग्रेस नेताहरूको भनाइ छ।