बारा, १४ माघ – बाराको परवानीपुर गाउँपालिका–१ मा आमा–छोराको हत्या घटनामा मृतक रामेश्वर मण्डलकी श्रीमतीको योजनामा हत्या भएको आशंका प्रहरीले गरेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा २३ वर्षीया मानिता देवीको योजनामा सासू सुमित्रादेवी मण्डल र श्रीमान् रामेश्वर मण्डलको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको हो।
घटनासँग सम्बन्धित आरोपमा मानितासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका युवक मानिताका पूर्वप्रेमी रहेको खुलेको छ। प्रहरीका अनुसार ती युवक वैदेशिक रोजगारीका लागि दुबईमा रहेका थिए र माघ १२ गते दुबईबाट काठमाडौं हुँदै बारा आएका थिए। हत्या योजनासहित नेपाल आएको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले ‘सुपारी’ दिएर अन्य व्यक्तिमार्फत हत्या गराइएको हो वा ती युवक स्वयं संलग्न छन् भन्ने विषयमा थप अनुसन्धान गरिरहेको छ। गएराति घरभित्रै आक्रमण हुँदा ४६ वर्षीया सुमित्रादेवी मण्डल र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डलको मृत्यु भएको थियो।
घटनामा मृतक रामेश्वरका बुबा ५० वर्षीय जगरुप मण्डल र २० वर्षीया बहिनी रिणा कुमारी मण्डल घाइते भएका छन्। उनीहरूको वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।





