वीरगंज (पर्सा), ७ माघ — जिल्ला प्रशासन कार्यालय पर्साले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गर्न जिल्लाभित्र इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ।
प्रशासनले जारी गरेको सूचनाअनुसार व्यक्तिगत इजाजतपत्र प्राप्त रहेका सबै किसिमका हातहतियार तथा खरखजानाहरु माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय पर्सा वा नजिकको प्रहरी चौकीमा अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
निर्वाचनको समयमा सुरक्षा चुनौती न्यूनीकरण गर्न तथा कुनै पनि अवाञ्छित गतिविधि रोक्न उक्त कदम चालिएको जिल्ला प्रशासनले जनाएको छ। प्रहरी कार्यालयमा बुझाइएका हातहतियारहरू निर्वाचन सम्पन्न भएको एक महिनापछि अर्थात् चैत २० गतेपछि सम्बन्धित धनीलाई फिर्ता गरिनेछ।
तोकिएको समयभित्र हातहतियार नबुझाउने वा सूचनाको अवज्ञा गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ। जिल्ला प्रशासन कार्यालयले सबै सरोकारवाला नागरिकलाई सूचनाको पालना गरी निर्वाचनलाई मर्यादित र सुरक्षित बनाउन सहयोग गर्न आग्रह गरेको छ।
