पर्सा, १३ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले ५५ के.जी. लागुऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।
माघ १० गते साँझ करिब ८ः३० बजे पर्सा जिल्लाको ठोरी गाउँपालिका–४, विशाल चोकस्थित बस्ने वर्ष ३४ का सुरेश श्रेष्ठको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको हो।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा प्लास्टिकले बेरिएको ५ प्याकेटमा जम्मा ५५ के.जी. लागुऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागुऔषधसहित सुरेश श्रेष्ठलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट १० दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
