वीरगंज, १२ माघ – पर्सा जिल्लामा प्रहरीले करिब ३० लाख रुपैयाँ बराबरका खुद्रा सामग्री बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका वडा नं. ७, रेल्वे सडकखण्डस्थित एक गोदाममा छापा मारेर अवैध रूपमा भण्डारण गरिएका सामग्री बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतवार राती ८ बजे वीरगञ्ज–७ स्थित वडा नं. ५ बस्ने बिकास गोयलले सञ्चालन गर्दै आएको गोदाममा भन्सार चोरी पैठारी तथा राजस्व छली गरी ल्याइएका सामग्री भण्डारण गरिएको सूचना प्राप्त भएपछि संयुक्त प्रहरी टोली खटिएको थियो।
छापा मार्ने क्रममा गोदाममा अवैध रूपमा राखिएका स्टेशनरी तथा किराना सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामग्रीमा पेन्सिल, रेजर, कटर, तार, टेप, बेलुन, लाइटर, रबर, जिबिया, गुच्चा लगायतका विभिन्न खुद्रा सामग्री रहेका छन्। बरामद सामानको अनुमानित मूल्य ३० लाख रुपैयाँ बराबर रहेको बताइएको छ।
बरामद गरिएका सबै सामग्री आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
